आशाको एक किरण : सरकारद्वारा सातवटा संयुक्त राष्ट्रसंघीय दृष्टिकोणको अनुवाद तथा अनलाइन प्रकाशन काठमाडौं, मार्च ११


 

UN Palais des Nations, Geneva

UN Palais des Nations, Geneva

वर्षौंको ढिलासुस्तीपछि नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिका सातवटा निर्णयको नेपाली अनुवाद गरेर अनलाइनमा प्रकाशन गरेर निर्णय कार्यान्वयनतर्फको पहिलो कदम चालेको छ ।

(दृष्टिकोण भनिने) यी निर्णयले आफूहरूविरुद्ध गरिएको मानवअधिकारको उल्लंघनका लागि नेपाल सरकारविरुद्ध नेपाली नागरिकहरूले दायर गरेका मुद्दासँग सरोकार राख्छन् ।

नेपालसँग सम्बन्धित लगभग सबै मुद्दामा समितिले सरकारलाई दृष्टिकोणहरूको स्थानीय भाषामा अनुवाद गर्न तथा तिनलाई सर्वसाधारणसमक्ष वितरण गर्न आग्रह गरेको थियो । समितिले निर्णय सुनाएका १२ वटा मुद्दामध्ये सरकारले हालसालै सातवटा मुद्दाको नेपाली अनुवाद गराएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट (OPMCM) मा प्रकाशित गर्यो ।

अनुदित मुद्दाहरूमा यशोदा शर्मा, केदार चौलागाइँ, देव बहादुर महर्जन, शान्ता सेढाइँ, रामकुमार भण्डारी, जितमान बस्नेत तथा शर्मिला त्रिपाठीका मुद्दा समावेश छन् ।

समितिले निर्णय गरेको पहिलो मुद्दा यशोदा शर्माको थियो र एड्भोकेसी फोरम नेपालले सन् २००६ मा यो मुद्दा दर्ता गराएको थियो अनि यसउपर फैसला सन् २००८ मा भएको थियो । यशोदाका श्रीमान् सूर्य प्रसाद शर्मालाई राज्यका सुरक्षा बलले जबर्जस्ती बेपत्ता बनाएको भनी समितिले पायो ।

जबर्जस्ती पक्राउ तथा यातनाको पीडित देव बहादुर महर्जनको मुद्दा एड्भोकेसी फोरमले सन् २००८ मा दर्ता गराएको थियो तथा यसउपर निर्णय सन् २०१२ मा भएको थियो । राज्यद्वारा बेपत्ता पारिएका मुकुन्द सेढाइँकी श्रीमती शान्ता सेढाइँको मुद्दा समितिसमक्ष सन् २००८ मा पेश गरिएको थियो र सन् २०१३ मा यसउपर निर्णय भएको थियो । त्यसैगरी सन् २००४ मा नेपाली सेनाद्वारा हत्या गरिएकी सुभद्रा चौलागाइँका पिता केदार चौलागाइँले एड्भोकेसी फोरम तथा रिड्रेसको सहयोगमा सन् २०१० मा मुद्दा दर्ता गरे । समितिले मुद्दाउपर सन् २०१४ मा निर्णय सुनायो ।

त्यसैगरी रामकुमार भण्डारी, जितमान बस्नेत तथा शर्मिला त्रिपाठीको मुद्दा ट्रायलको प्रतिनिधित्वमा समितिसमक्ष दायर गरिएको थियो । भण्डारी, बस्नेत तथा त्रिपाठीका मुद्दा सन् २०१० तथा सन् २०११ मा दर्ता गरिएका थिए । राम भण्डारीका पिता तेजबहादुर भण्डारी तथा शर्मिला त्रिपाठीका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई राज्यका सुरक्षाबलले बेपत्ता पारेका थिए भने जितमान बस्नेत जबर्जस्ती पक्राउ तथा यातनाका पीडित हुन् । समितिले यी तीनै मुद्दाउपर सन् २०१४ मा निर्णय गरेको हो ।

हालैका यी अनुवाद पीडितलाई दिइने न्यायतर्फको सकारात्मक प्रगति भएपनि सरकारले निर्णयहरूको पूर्ण कार्यान्वयनका लागि कुनै ठोस कदम हालसम्म पनि चालेको पाइँदैन । समितिका निर्णयहरूले सरकारलाई अन्य कुराका अलावा पीडितको परिवारलाई प्रभावकारी परिपुरण प्रदान गर्न तथा गरिएका उल्लंघनमा स्वच्छ अनुसन्धान गर्न अनि पीडकहरूलाई न्यायको दायरामा ल्याउन आग्रह गरेका छन् ।

यो अनुवाद सही दिशातर्फको सानो कदम हो किनकि यो उल्लंघनका घटनामा सरकारको जिम्मेवारी थियो भन्ने कुराको स्वीकारको प्रक्रियाको एक अंग हो । तर हामीले वास्तवमा चाहेको कुरा होइन यो । पीडकहरूलाई कारागारमा थुनिएको नदेखुन्जेलसम्म न्यायका लागि हाम्रो लडाइँ रोकिने छैन, शान्ता सेढाइँले भनिन् ।

ट्रायल, एड्भोकेसी फोरम, रिड्रेस तथा जुरी नेपालद्वारा संयुक्त रूपमा हालसालै सार्वजनिक गरिएको अब सार्थक अधिकार भन्ने एक वर्षे अभियानको सुरुवात सँगसँगै यी निर्णयहरूको अनुवाद भएको हो । समितिका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा पीडितहरूलाई न्याय दिलाउनका लागि जिम्मेवार सरकारी अधिकारीहरूमाथि सार्वजनिक दबाब दिने अभियानको मुख्य उद्देश्य हो ।