उपचार


UN Human Rights Committee (c) IRIN

UN Human Rights Committee (c) IRIN

उपचारका व्यवस्थाहरू

तोकिएको मुद्दामा निर्णय दिने क्रममा मानवअधिकार समितिले कुन मानवअधिकारको उल्लंघन भएको छ भनेर हेर्ने मात्र होइन कि पीडितलाई उचित न्याय दिलाउन राज्यले चाल्नुपर्ने कदमहरूसमेत सिफारिस गर्दछ । कानुनी भाषामा यस्ता उपायहरूलाई “उपचार” वा “परिपूरण” भनिन्छ । राज्यद्वारा यस्ता परिपूरण पीडितको प्रभावकारी उपचारको अधिकारबाट उत्पन्न हुन्छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परिपूरण पर्याप्त, प्रभावकारी छिटोछरितोर मानवअधिकार हनन भएका पीडितलाई न्याय दिलाई न्यायलाई प्रवर्द्धन गर्ने उद्देश्यले दिइएको हुनुपर्दछ । त्यस्तो परिपूरण “मानवअधिकार उल्लंघनले पुर्याएको क्षतिबराबर” हुनुपर्दछ ।

यसका साथै मानवअधिकार समितिको दृष्टिकोणमा परिपूरणलाई “समष्टिगत रूप”मा बुझ्नु आवश्यक छ जसको मतलब “परिपूरण” वा “उपचार” मा यी पाँच तत्वहरू हुनुपर्दछ : (१) क्षतिपूर्ति, (२) प्रतिस्थापन, (३) पुनःस्थापन, (४) सन्तुष्टि र (५) पुनः नदोहोरिने प्रत्याभूति । समितिले धेरैजसो निर्णयहरूमा राज्यहरूलाई आफ्ना निर्णयलाई आधिकारिक भाषाहरूमा अनुवाद गरी व्यापक रूपमा वितरण गर्न सिफारिस गर्दछ ।

“अब सार्थक अधिकार” नामक अभियानले नेपाललाई सिफारिस भएका उपचार तथा परिपुरण ढिलाइ नगरी मानवअधिकार समितिका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गर्दछ ।

मानवअधिकार समितिका निर्णयलाई स्थानीय भाषामा अनुवाद गरी वितरण गर्नुपर्ने
मानवअधिकार समितिले आफ्नो कार्यविधि जहिले पनि राष्ट्रसंघका ६ आधिकारिक भाषामध्ये एक भाषामा अघि बढाउँदछ । नेपालको हकमा अंग्रेजी भाषामा कार्यविधि अघि बढाइन्छ ।

मुद्दा विचाराधीन रहेको अवस्थामा (मानवअधिकार समितिका सदस्यहरूले मुद्दाको निर्णय नसुनाएसम्म) मुद्दासँग सम्बन्धित सबै जानकारीहरू पीडितले चाहेको अवस्थामा बाहेक गोप्य राखिन्छ । राष्ट्रसंघले मुद्दाको निर्णय गरिसकेपछि मात्र मुद्दाका बारेमा जानकारी सार्वजनिक गर्दछ र त्यसको जानकारी राष्ट्रसंघको वेबसाइटमा हुने अपडेटमा सीमित रहन्छ।

यी कारणहरूले गर्दा मानवअधिकार समितिले धेरैजसो अवस्थामा राज्यलाई सर्वप्रथम त आफ्ना निर्णयहरूलाई राज्यको आधिकारिक भाषा(हरू)मा अनुवाद गर्न सिफारिस गर्छ र दोस्रो, आम नागरिकहरू त्यस्तो प्रक्रियाका बारेमा सूचित होऊन् भनी ती निर्णयहरूलाई प्रकाशित गरी व्यापक रूपमा वितरण गर्न सिफारिस गर्छ।

मानवअधिकार समितिले निर्णय अनुवाद गर्न सिफारिस गरेका ८ मध्ये कुनै पनि निर्णयहरु अनुवाद भएका छैनन् ।

मानवअधिकार समितिले निर्णय वितरण गर्न सिफारिस गरेका १० मध्ये कुनै पनि निर्णयहरु प्रकाशित र वितरण भएका छैनन् ।

तथ्यमाथि अनुसन्धान गरी निवेदकलाई त्यसको निष्कर्षका बारेमा जानकारी दिनुपर्ने
मानवअधिकार समितिले धेरैजसो अवस्थामा पक्षराष्ट्रहरूलाई मानवअधिकार उल्लंघनको अनुसन्धान गर्नुपर्ने आफ्नो दायित्व सम्झाउनुपर्ने हुन्छ ।

तथ्यको अनुसन्धान गर्ने दायित्व विशेषगरी बेपत्ता मुद्दाहरूमा महत्वपूर्ण हुन्छन् जसमा बेपत्ता(हरू)को वास्तविक अवस्था थाहा नहुनुको मुख्य कारण नै राज्यले प्रभावकारी अनुसन्धान गर्न नसक्नु हुन्छ ।

अनुसन्धानको सन्दर्भमा, मानवअधिकार समितिको मापदण्डअनुसार त्यस्ता अनुसन्धानहरू “छिटो, विस्तृत तथा निष्पक्ष” हुनपर्दछ र अधिकारप्राप्त निकायबाट गरिनुपर्दछ ।

तथ्यको अनुसन्धानलाई गर्ने दायित्व प्रायः जसो अभियोग चलाउने, सुनुवाइ गर्ने र सजाय दिने दायित्वहरूसँगै आउँछ । तल उल्लेख गरिएका कानुनी कठघरामा उभ्याउने, अभियोजन गर्ने र दण्डित गर्ने  कार्यका लागि जिम्मेवार निकायहरूका बारेमा जान्न यहाँ क्लिक गर्नुहोस् । यसको मतलब अनुसन्धान पीडक पहिचान  गर्ने र अभियोगबमोजिम उचित सजाय दिलाउने कार्यमा पूर्ण हुनुपर्दछ । यसकारण सत्यतथ्य पत्ता लगाउने कार्यमा संक्रमणकालीन न्याय प्रणालीका कार्यहरू राज्यको अनुसन्धान गर्ने दायित्व पूरा गर्नका लागि सधैँ उपयुक्त नहुन सक्छन् ।

मानवअधिकार समितिले निर्णय गरेका नेपालसँग सम्बन्धित सबै मुद्दाहरूमा नेपालले “गहन” (शर्मा विरुद्ध नेपाल, गिरि विरुद्ध नेपाल, सेढाइँ विरुद्ध नपाल, महर्जन विरुद्ध नेपाल, त्रिपाठी विरुद्ध नेपाल, बस्नेत विरुद्ध नेपाल, भण्डारी विरुद्ध नेपाल, कटुवाल विरुद्ध नेपाल, थारु विरुद्ध नेपाल), “सावधानी अपनाई” (गिरि विरुद्ध नेपाल, महर्जन विरुद्ध नेपाल), “प्रभावकारी” (सेढाइँ विरुद्ध नेपाल, चौलागाइँ विरुद्ध नेपाल, त्रिपाठी विरुद्ध नेपाल, बस्नेत विरुद्ध नेपाल, भण्डारी विरुद्ध नेपाल, कटुवाल विरुद्ध नेपाल, थारु विरुद्ध नेपाल) र/वा पूर्ण (चौलागाइँ विरुद्ध नेपाल) अनुसन्धान गर्नुपर्ने दायित्व रहेको ठहर गरेको छ ।

यसका साथै मानवअधिकार समितिले त्यस्ता अनुसन्धानबाट निस्केका निष्कर्षहरू पीडितहरूलाई जानकारी गराउने नेपालको दायित्व रहेको कुरामा जोड दिएको छ । जान्न पाउने अधिकार सुनिश्चित गर्न अनुसन्धानका निष्कर्षहरू सार्वजनिक गरिनुपर्दछ । पीडित तथा तिनका परिवारहरू तथा पूरा समाजले बाँच्न पाउने अधिकार हनन कस्तो अवस्थामा भएको थियो, पीडक को हो भन्ने जानकारी र अनुसन्धानको प्रगतिका बारेमा पनि जानकारी प्राप्त गर्न सक्छन् । अनुसन्धानले अनिवार्य रूपमा सबै प्रमाणहरू संकलन गर्नु र अभिलेख राख्नुपर्दछ, उल्लंघनको तथ्य र कारण उजागर गर्ने र अनुसन्धानको प्रक्रिया, प्रमाण तथा निष्कर्षका बारेमा पीडित र/वा तिनका परिवारहरूलाई जानकारी गराउनुपर्छ । त्यस्ता जानकारी सार्वजनिक गर्दा पीडित र तिनका परिवारलाई  वा साक्षीहरूलाई खतरा नहुने अवस्थामा अनुसन्धानको निष्कर्ष सार्वजनिक गरिनुपर्दछ। नेपालको सन्दर्भमा मानवअधिकार समितिले मुद्दा दायर गर्ने पक्षलाई “अनुसन्धानको विस्तृत जानकारी दिने दायित्व नेपालमा रहेको” बताएको छ (चौलागाइँ विरुद्ध नेपाल, त्रिपाठी विरुद्ध नेपाल, बस्नेत विरुद्ध नेपाल, भण्डारी विरुद्ध नेपाल, थारु विरुद्ध नेपाल)।

कटुवाल विरुद्ध नेपाल मुद्दामा मानवअधिकार समितिले नेपालको अनुसन्धान गर्ने दायित्वलाई पीडितलाई अनुसन्धानको जानकारी दिने दायित्वसँग मात्र नजोडी “कटुवालको स्वतन्त्रता हनन गर्ने, यातना दिने र उनलाई बेपत्ता पार्ने व्यक्तिहरूलाई अभियोग चलाई कारबाही गरी सजाय दिलाउने र त्यसको प्रतिफल सार्वजनिक गर्ने दायित्वमा समेत रहेको जोड दिएको छ ।”

मानवअधिकार समितिले पहिलेका निर्णयहरूमा – नेपालसँग प्रत्यक्ष सरोकार नराख्ने मुद्दामा – मानवअधिकार उल्लंघनको अनुसन्धान गरी पीडकहरूलाई कारबाहीको दायरामा ल्याउने साधन हो र बेपत्ता मुद्दामा बेपत्ता पारिएका व्यक्तिको वास्तविक अवस्था पत्ता लगाउनु (वा निजको मृत्यु भइसकेको भए उसको भौतिक अवशेष परिवारलाई जिम्मा लगाउनु) राज्यको तिनका परिवारप्रतिको दायित्व हो । साधारण भाषामा भन्नुपर्दा यस्ता मुद्दाहरूमा राज्यको परिणाम देखाउने दायित्व हुन्छ ।

मानवअधिकार समितिद्वारा निर्णय भएका सबै १० मुद्दाहरूमा तथ्यको अनुसन्धान गर्नु भनी आदेश भएका छन् । यसका बाबजुद गिरीको मुद्दामा प्रारम्भिक अनुसन्धानका केही कदमहरु चालिएका छन् भएपनि अन्य कुनै पनि मुद्दाहरूमा राम्रो अनुसन्धान भएको छैन ।

दोषीमाथि कारवाही, सुनुवाइ र सजाय हुनुपर्ने
माथि उल्लेख गरिएको अनुसन्धानबाट मानवअधिकार उल्लंघन भएको खुल्न आएमा राज्यले त्यस्ता उल्लंघन गर्ने व्यक्तिहरूलाई न्यायको कठघरामा उभ्याउने प्रत्याभूति गर्नुपर्दछ।

निर्णय भएका सबै नेपालसँग सम्बन्धित मुद्दाहरूमा मानवअधिकार समितिले “कारबाही, सुनुवाइ र सजाय” गर्ने वा सामान्य रूपमा मानवअधिकार उल्लंघनका कार्यहरूलाई “कारबाही र सजाय” गर्ने दायित्व नेपालमा रहेको ठहर गरेको छ ।

नेपालको सन्दर्भमा कारबाही गर्ने र सजाय दिने दायित्व नेपालमा रहेका यातना तथा बेपत्ता पार्ने कार्यहरूलाई फौजदारी अपराध नबनाइनु जस्ता कानुनी सीमा तथा व्यवधानहरूबाट स्वतन्त्र हुनुपर्दछ । मानवअधिकार समितिले यी मुद्दाहरूलाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा लिन्छ र त्यस्ता उल्लंघनकारीहरूलाई न्यायको कठघरामा उभ्याउनैपर्ने विचार राख्दछ । नेपाल नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्धको पक्षराष्ट्र भएका कारण उसले यस्ता प्रकारका मानवअधिकार उल्लंघनहरू विरुद्ध लड्ने तथा त्यसलाई नियन्त्रण गर्ने दायित्व स्वीकार गरेको छ । त्यसकारण मानवअधिकार समितिले नेपाललाई त्यस्ता अपराधविरुद्ध कारबाही गर्न मिल्नेगरी आफ्ना आन्तरिक कानुनहरू परिमार्जन गर्न सिफारिस गर्दछ ।

मानवअधिकार समितिले गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूमा न्यायिक उपचार आवश्यक रहेको बताएको छ । यसका साथै समितिले अनुशासन सम्बन्धी, प्रशासनिक वा अन्य प्रकृतिका कारबाही पर्याप्त नभएको बताएको छ । नेपालको सन्दर्भमा संक्रमणकालीन न्याय प्रणालीलाई उद्धृत गर्दै समितिले तिनीहरू न्यायिक अंग नभएको र त्यसकारण तिनीहरूले उपयुक्त न्यायिक उपचार दिन नसक्ने बताएको छ ।

मानवअधिकार समितिले गम्भीर मानवअधिकार उल्लंघनहरू सैन्य प्रकृतिको अपराध नहुने र त्यसकारण सिद्धान्ततः सैनिक अदालतहरूबाट सुनुवाइ गर्न नमिल्ने ठहर गरेको छ ।

मानवअधिकार समितिले निर्णय गरेका १० वटै मुद्दाहरूमा समितिले पीडकहरूलाई कारबाही गरी सजाय गर्न आदेश गरेको छ तर कुनै पनि पीडकलाई कारबाही गरिएको छैन ।

बेपत्ता पारिएकाहरूको भौतिक अवशेष रहेको स्थानको पहिचान गरी परिवारलाई फिर्ता गरिनुपर्ने वा जीवित भए तिनलाई थुनामुक्त गरिनुपर्ने
बेपत्ताका मुद्दाहरूमा मानवअधिकार समितिले निरन्तर रूपमा बेपत्ता व्यक्ति जीवित भए वा नजरबन्दमा राखिएको भए तिनलाई रिहा गर्ने दायित्व नेपालको रहेकोमा जोड दिएको छ । बेपत्ता व्यक्ति मरेको वा बाँचेको भन्ने अवस्थाबारे कुनै जानकारी नभए वा बेपत्ता व्यक्तिको मृत्यु भइसकेको भए नेपालले तिनीहरूको भौतिक अवशेष भएको स्थानको पहिचान गरी तिनीहरूको परिवारहरूलाई फिर्ता गर्नुपर्ने बताएको छ ।

कानुनी भाषामा यी उपायहरूलाई “प्रतिस्थापन” भनिन्छ र यसमा सम्भव भएसम्म पीडितहरूको अधिकार हनन हुनुभन्दा पहिलेको अवस्थामा लाने उद्देश्य लिइएको हुन्छ ।

मानवअधिकार समितिले निर्णय गरेका बेपत्ता सम्बन्धी ६ वटा मुद्दाहरूमा नेपाललाई बेपत्ता व्यक्तिका मृत्यु भइसकेको भए तिनको भौतिक अवशेष भएको स्थान पहिचान गरी परिवारहरूलाई फिर्ता दिन र जीवित भए तिनलाई थुनामुक्त गर्न भनेको छ तर कुनै पनि बेपत्ता व्यक्ति जीवित वा मृत अवस्थामा भेटिएको छैन ।

पर्याप्त क्षतिपूर्ति प्रदान गरिनुपर्ने
नेपालसम्बन्धी सबै निर्णयहरूमा मानवअधिकार समितिले पीडित वा उपयुक्त भए तिनका परिवारहरूलाई “पर्याप्त क्षतिपूर्ति” दिन पनि सिफारिस दिएको छ । क्षतिपूर्ति भन्नाले कुनै पनि पीडितलाई भएको भौतिक वा अभौतिक क्षतिबापत पाउनुपर्ने आर्थिक परिपूरणलाई बुझिन्छ ।

मानवअधिकार समितिले नेपालको सन्दर्भमा साधारण तया प्रयोग गर्दै आएको सूत्र भनेको “पीडितलाई उसले सहनुपरेको क्षति अनुसार पर्याप्त क्षतिपूर्ति दिलाउनु” र आवश्यक परेको अवस्थामा उसको सन्तानलाई पनि पर्याप्त क्षतिपूर्ति दिलाउनु हो । तर कुनै अवस्थामा मानवअधिकार समितिले “पूर्ण परिपूरण” दिलाउने फराकिलो दायित्व पनि दिएको छ जसमा समितिले पुनःस्थापन र सन्तुष्टिका उपायहरू (चौलागाइँ विरुद्ध नेपाल) जस्ता परिपूरणका अन्य स्वरूपहरूलाई पनि व्याख्या गरेको छ ।

आफ्नो नीतिअनुरूप अन्य मानवअधिकार निकायले जस्तै मानवअधिकार समितिले पीडितहरूलाई दिइनुपर्ने क्षतिपूर्ति रकमको मात्रा तोक्दैन । मानवअधिकार समितिले पीडितलाई प्रदान गरिनुपर्ने क्षतिपूर्ति रकमको मात्रा नतोकेतापनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्षतिपूर्ति “आर्थिक रूपमा मापन गर्न सकिने क्षति, उल्लंघनको गाम्भीर्य अनुसार उचित र समानुपातिक हुनुपर्दछ र यसले “(शारीरिक वा मानसिक क्षति; (ख) गुमेको रोजगारी, शिक्षा र सामाजिक लाभ; (ग) भौतिक क्षति र कमाइ साथै कमाइ गर्ने क्षमतामा ह्रास आउनु; (घ) नैतिक क्षति; र (ङ) कानुनी सल्लाह वा विज्ञको राय प्राप्त गर्ने खर्च, औषधि तथ उपचार खर्च  र मनोवैज्ञानिक तथा सामाजिक सेवा प्राप्त गर्न लागेको खर्च” समेट्नुपर्दछ ।

मानवअधिकार समितिले पीडितहरूले “अन्तरिम राहत कार्यक्रम” अन्तर्गत प्राप्त गरेको रकम उनीहरूले मानवअधिकार उल्लंघनबाट बेहोर्नुपरेको भौतिक तथा नैतिक क्षतिलाई कुनै पनि ढङ्गले परिपूरण गर्न अपर्याप्त रहेको (भण्डारी विरुद्ध नेपाल) र “पीडितका परिवार र आफन्तहरूले भोग्नुपरेको पीडा र कष्टलाई परिपूरण गर्न नसक्ने” (सेढाइँ विरुद्ध नेपाल) बताएको छ ।

निर्णय भएका सबै १० मुद्दाहरूमा मानवअधिकार समितिले पीडित तथा तिनका परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गर्न सिफारिस गरेको छ । तीनवटा मुद्दाहरुमा द्वन्द्वपीडितहरूलाई राहत दिइने नीतिअनुसार प्रदान गरिने थोरै अन्तरिम राहत बाहेक कसैलाई पनि पर्याप्त क्षतिपूर्ति दिइएको छैन ।

पर्याप्त मनोवैज्ञानिक पुनःस्थापन तथा उपचार सहयोग
“पुनःस्थापन”का उपायहरू भन्नाले पीडित र/वा परिवारका सदस्यहरूलाई मानवअधिकार उल्लंघन भएका कारणले आवश्यक पर्नसक्ने स्वास्थ्य, मनोवैज्ञानिक, सामाजिक र कानुनी सहायता र सेवालाई जनाउँछ । यातनाविरुद्धको समितिका अनुसार, पीडितहरूलाई दिइने पुनःस्थापनले सम्भव भएसम्म तिनीहरूको स्वतन्त्रता, शारीरिक, मानसिक, सामाजिक तथा व्यवसायिक सामथ्र्यलाई पुनःस्थापन गर्नुपर्दछ र तिनीहरूको समाजमा सहभागिता र समावेशितालाई सुनिश्चित गर्नुपर्दछ ।

आजका मितिसम्म, मानवअधिकार समितिले तीनवटा मुद्दाहरूमा नेपालको पुनःस्थापन गर्ने दायित्व रहेको ठहर गरेको छ । त्रिपाठी विरुद्ध नेपाल र बस्नेत विरुद्ध नेपाल मुद्दामा समितिले नेपालले पीडितहरूलाई आवश्यक र पर्याप्त मनोवैज्ञानिक पुनःस्थापन तथा स्वास्थ्य उपचारको प्रत्याभूति गराउन र थारु विरुद्ध नेपाल मुद्दामा नेपालले निवेदकलाई आवश्यक र पर्याप्त पुनःस्थापन तथा स्वास्थ्य उपचारको प्रत्याभूति गराउन सुझाव दिएको छ ।

निर्णय भएका मुद्दाहरूमध्ये तीन मुद्दाहरूमा मानवअधिकार समितिले पुनःस्थापन तथा मनोवैज्ञानिक र स्वास्थ्य सहायता प्रदान गर्न सिफारिस गरेको छ । तर कुनै पनि पीडितहरूले त्यस्तो सहायता पाएका छैनन् ।

भविष्यमा त्यस्ता प्रकृतिका अवस्थाहरू आउन नदिने
निर्णय भएका नेपालका सबै मुद्दाहरूमा मानवअधिकार समितिले त्यस्ता खालका मानवअधिकार उल्लंघन भविष्यमा हुन नदिन उचित उपाय अपनाउन सिफारिस गरेको छ । कानुनी भाषामा त्यस्ता उपायहरूलाई “पुनः नदोहोरिन प्रत्यभूति” भनिन्छ ।”

मानवअधिकार समितिले सबै मुद्दाहरूमा “भविष्यमा त्यस्ता अवस्थाहरू रोक्ने” दायित्व नेपालको रहेको छ भन्ने भाषाको प्रयोग गरेको छ भने कुनै मुद्दाहरूमा (त्रिपाठी विरुद्ध नेपाल, भण्डारी विरुद्ध नेपाल, बस्नेत विरुद्ध नेपाल, थारु विरुद्ध नेपाल) मा समितिले थप के भनेको छ भने नेपालले “आफ्ना कानुन सुधार गरेर अनुबन्धको उल्लंघनका घटनाहरूमा फौजदारी कारबाही चलाइने प्रत्याभूति गर्नुपर्दछ भनेको छ ।”

महर्जन विरुद्ध नेपालमा मानवअधिकार समितिले नेपालको “आफ्ना कानुनहरू अनुबन्धअनुरूप हुने गरी संशोधन गर्न तथा यातना क्षतिपूर्ति ऐन अन्तर्गतका मुद्दामा थुनामा परेको वा थुनामुक्त भएका मितिले ३५ दिनभित्र उजुरी गर्नपर्ने हदम्यादलाई संशोधन गरी लम्ब्याउनु, यातनालाई परिभाषित गर्ने तथा फौजदारी अपराध बनाउने कानुन बनाइनुपर्ने र यातना तथा बेपत्ता पार्ने कार्यमा संलग्न पीडकहरूलाई उन्मुक्ति दिने कानुनहरूलाई खारेज गर्नुपर्ने” दायित्व रहेको बताएको छ ।

अर्को शब्दमा भन्नुपर्दा नेपालले अन्तर्राष्ट्रिय दायित्वको पालन गर्न यातना र बेपत्ता पार्ने कार्यलाई फौजदारी अपराधी बनाउनुपर्छ । भविष्यमा त्यस्ता कार्य दोहोरिन नदिने प्रत्यभूति दिनुपर्दछ ।
यसका साथै, पीडितमाथि त्यस्ता प्रकृतिका घटना वा सोही घटनासँग सम्बन्धित अन्य घटना दोहोरिन नदिने प्रत्यभूति दिन मानवअधिकार समितिले “पीडित र तिनका परिवारहरूलाई प्रतिशोध तथा धम्कीको सिकार नहुने सुनिश्चित” गर्ने दायित्व नेपालको रहेको बताएका छन् (गिरी विरुद्ध नेपाल, महर्जन विरुद्ध नेपाल) ।

नेपालले त्यस्ता उल्लंघनहरू भविष्यमा हुन नदिनका लागि अपनाउन सक्ने उपायहरूमा उदाहरणका लागि सैनिक तथा सुरक्षाफौजहरू नागरिक अदालतको नियन्त्रणमा हुने कुराको सुनिश्चित गर्ने, समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको शिक्षा दिने र कानुन कार्यान्वयन गर्ने कर्मचारी, सेना, सुरक्षाफौजहरूलाई प्रशिक्षण दिने वा कानुन कार्यान्वयन गर्ने कर्मचारीलगायतका सरकारी कर्मचारीहरूको आचरणसम्बन्धी नियमावली बनाई त्यसको कार्यान्वयनको सुनिश्चितता गर्ने पर्दछन् ।

निर्णय भएका १० वटै मुद्दाहरूमा मानवअधिकार समितिले भविष्यमा त्यस्ता प्रकृतिका मानवअधिकार उल्लंघन दोहोरिन नदिन सिफारिस गरेको छ तर कुनै पनि कानुन संशोधन गरिएको छैन । २०१४ मा यातनालाई फौजदारी अपराध बनाउन संसदमा विधेयक पेश भएको भएतापनि उक्त विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नभएको र हालसम्म विधायिकाले पारित गरेको छैन ।

सन्तुष्टि
चौलागाइँ विरुद्ध नेपाल, त्रिपाठी विरुद्ध नेपाल, बस्नेत विरुद्ध नेपाल, कटुवाल विरुद्ध नेपाल र थारु विरुद्ध नेपालमा मानवअधिकार समितिले नेपाललाई पीडितहरूका लागि “सन्तुष्टिका उपयुक्त उपाय” अपनाउनुपर्ने दायित्व नेपालको भएको बताएको छ ।

मानवअधिकार समितिका अनुसार “सन्तुष्टि” भन्नाले सार्वजनिक रूपमा आफ्नो दायित्व स्वीकार गर्नु र औपचारिक रूपमा पीडितहरूलाई सम्मान गर्नु हो । यसका उदाहरणहरूमा पीडितहरूलाई सम्झना गर्नु वा तिनिहरूलाई श्रद्धाञ्जली अर्पण गर्नु, तथ्य र दायित्व स्वीकार गरी सार्वजनिक रूपमा माफी माग्नु वा न्यायिक निर्णयहरूद्वारा पीडितको आत्मसम्मान तथा प्रतिष्ठालाई प्रतिस्थापन गर्नु हुन् ।

निर्णय भएका मुद्दाहरूमध्ये पाँचवटा मुद्दाहरूमा मानवअधिकार समितिले नेपाललाई सन्तुष्टिका उपाय अपनाउन सिफारिस गरेको छ । तर पीडितको आत्मसम्मान प्रतिस्थापन गर्न कुनै पनि कदमहरु अपनाइएका छैनन् ।