सूर्य प्रसाद शर्मा


२००२ मा बेपत्ता पारिएका कम्युनिस्ट कार्यकर्ता

तथ्य

यशोदा शर्मा ©एड्भोकेसी फोरम नेपाल
यशोदा शर्मा ©एड्भोकेसी फोरम नेपाल

सूर्य प्रसाद शर्मा लामो समयसम्म कम्युनिस्ट कार्यकर्ता र नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी) का कार्यकर्ता थिए । उनी हिंसात्मक गतिविधिमा कहिले पनि संलग्न थिएनन् तर सन् १९९७ मा प्रहरीले नेकपा माओवादीमा संलग्न रहेको भन्ने आरोपमा पक्राउ गरी यातना दिएपश्चात् पाँच वर्ष भूमिगत रहे । उनी जनवरी २००२  मा अस्वस्थ अवस्थामा घर फर्के । घर फर्केको भोलिपल्ट उनलाई शाही नेपाली सेनाले उनको घरबाट पक्राउ गरी सैनिक शिविरमा लगे । उनलाई दस दिनसम्म मरणासन्न हुने गरी कुटिएको भनी उनकी श्रीमतीले खबरहरू प्राप्त गरेकी थिइन् । त्यसपछि उनी देखापरेका छैनन् ।

थप जानकारी : यहाँ

न्यायको खोजी

सूर्य प्रसाद शर्मा बेपत्ता पारिएपश्चात् उनकी श्रीमती यशोदा शर्माले उनको बारेमा थप जानकारी प्राप्त गर्न धेरैपटक सैनिक शिविरहरूमा धाइन् । उनले नेपालको राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी पनि दर्ता गराइन् । सन् २००३  फेब्रुअरीमा उनले आफ्नो श्रीमान् को रिहाइको माग गर्दै अदालतमा मुद्दा दायर गरिन् । बागलुङका प्रमुख जिल्ला अधिकारीबाहेकका सबै सरकारी पदाधिकारीले निजलाई पक्राउ गरी हिरासतमा राखेको कुरा इन्कार गरे । प्रमुख जिल्ला अधिकारीले भने अदालतसमक्ष निज शर्मा भाग्ने प्रयासमा नदीमा हामफालेको र डुबेको भनी बताए । सरकारद्वारा बेपत्ताका घटना छानबिन गर्न बनेको समितिले पनि सोही जानकारी दियो । सोही जानकारीका आधारमा अदालतले उक्त मुद्दा बन्द गर्यो ।

यशोदा शर्माले एड्भोकेसी फोरमको प्रतिनिधित्वमा सन् २००६ को अप्रिल महिनामा सूर्य प्रसाद शर्माको मुद्दा संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिमा दर्ता गराइन् । सन् २००८  मा मानवअधिकार समितिले नेपालकै पहिलो यो मुद्दामा आफ्नो निर्णय सुनायो ।

समितिले निज शर्मालाई जबर्जस्ती बेपत्ता पारिएको र सो कार्यले निजको यातनाविरुद्धको अधिकार, थुनामा मानवीय व्यवहारको अधिकार र स्वतन्त्रताको अधिकारको उल्लङ्घन भएको भनी निर्णय दियो ।समितिले श्रीमती शर्माले पीडा र तनाव भोग्नुपरेकोले उनको मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भनी निर्णय दियो ।

“यो देशमा हामीजस्ता व्यक्तिहरूले न्याय प्राप्त गर्न अत्यन्तै गाह्रो भए पनि म मेरो श्रीमान् लाई धोका दिन सक्दिनँ । मैले मेरो श्रीमान् को सत्यता पत्ता लगाउन सम्भव भएजति सबै गरेकी छु, म अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुगेकी छु । मैले जति कठिनाइबाट गुज्रिनुपरे पनि म सत्यको खोजी र न्याय प्राप्तिको प्रयास निरन्तर रूपमा गरिरहनेछु ।”यशोदा शर्मा, सूर्य प्रसाद शर्माकी श्रीमती ।

निर्णय पढ्नुहोस् : अंग्रेजी नेपाली

थप हेर्नुहोस् : एड्भोकेसी फोरम (२०१२), यशोदा शर्मा : न्यायका लागि एक पत्नीको लडाइँ

सिफारिसहरू

मानवअधिकार समितिले नेपालद्वारा विस्तृत तथा लगनशील अनुसन्धान गरी उक्त अनुसन्धानको निष्कर्षको बारेमा सूर्य प्रसाद शर्माको परिवारलाई जानकारी दिई दोषीमाथि कारबाही गरी सजाय दिनुपर्ने सुझाव दिएको छ । नेपालले सूर्य प्रसाद शर्मा जीवित भए उनलाई तत्कालै रिहा गर्नुपर्छ, यशोदा शर्मा र उनको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्छ र भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन उचित उपाय अवलम्बन गर्नुपर्छ भनी समितिले सुझाव दिएको छ ।

तथ्यको अनुसन्धान परिवारलाई जानकारी     C
प्रभावकारी अनुसन्धान अघि बढाइएको छैन । 
पीडकमाथि कारबाही तथा सजायE
यस अपराधसँग सम्बन्धित कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाइएको छैन । 
परिपूरणB
यशोदा शर्मालाई सरकारद्वारा जनयुद्धमा बेपत्ता पारिएका सबै पीडितहरूलाई प्रदान गरिने थोरै मात्र थप “अन्तरिम राहत” दिइएको छ, जुन उल्लङ्घन वा क्षतिको तुलनामा अत्यन्तै न्यून छ । 
त्यस्ता प्रकृतिका उल्लङ्घनहरूको रोकथामC
२०७४ मा नेपालमा नयाँ फौजदारी संहिताले यातना र बलपूर्वक बेपत्ता जस्ता कसुरलाई अपराधीकरण गरेतापनि, यसको परिभाषा र हदम्यादका साथै क्षतिपूर्तिको व्यवस्था अन्तर्राष्ट्रिय कानुनसंग मिल्दो छैन । साथै गैर न्यायिक हत्यासम्बन्धी छुट्टै कानुन छैन । 
अनुवाद तथा वितरणB
सरकारले यस मुद्दाको निर्णयलाई अनुवाद गरेको छ तर व्यापक रुपमा प्रचार प्रसार गरेको छैन ।

कार्यान्वयनका प्रयासहरू

१. संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिसमक्ष कार्यान्वयन सम्बन्धी छायाँ प्रतिवेदन पेश गरिएको, फेब्रुअरी २०१४ (अंग्रेजी)

२. श्रीमती शर्माका प्रतिनिधिहरू र सरकारबीच निजको मुद्दामा छलफलका लागि बैठक

३. मानवअधिकार समितिलाई जुन २००९, मार्च २०१०, जुन २०१०, नोभेम्बर २०१०, अक्टोबर २०११, जुलाई २०१२, मार्च २०१३, नोभेम्बर २०१३, जुलाई २०१४ मा पत्राचार

४. मानवअधिकार समितिसँग जुलाइ २०१२ र नोभेम्बर २०१५ मा बैठक