काठमाडौं : पीडितहरूबाट आफ्नो कथा बताउने वेबसाइट उद्घाटन


Website photo launch optimised
 सन् २०१६ को फेब्रुअरी २६ मा नेपालस्थित गम्भीर मानवअधिकार उल्लंघनका पीडितको एक समूहले आफ्नो कथा बताउने वेबसाइट प्रेस तथा नागरिक समाजसमक्ष सार्वजनिक गर्यो ।

www.realrightsnow.org नामक यो वेबसाइटको सार्वजनिकीकरणले गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा अब सार्थक अधिकार भन्ने आह्वानका साथ गैरसकारी संस्थाहरू एड्भोकेसी फोरम, जुरी नेपाल, रिड्रेस तथा ट्रायलको सहयोगमा सञ्चालित एक बृहत् अभियानको सुरुवात गरेको छ ।

काठमाडौंमा भएको यो समारोहले विभिन्न जिल्लाका पीडितहरूलाई एकै ठाउँमा भेला हुने अवसर जुराएको थियो । पीडितहरूका मुद्दामा आफन्तजनको जबर्जस्ती बेपत्ता तथा गैरकानुनी हत्यादेखि लिएर स्वेच्छाचारी थुना तथा यातनासम्म पर्दछन् । भेला भएका प्रत्येक पीडितले संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिसमक्ष मुद्दा पुर्याएर जितेका हुन् र अहिले उनीहरूले सरकारलाई संयुक्त राष्ट्रसंघको निष्कर्षअनुकूल कारबाही गर्नका लागि आह्वान गरेका छन् ।

वेबसाइटलाई श्री महंगु चौधरीले आधिकारिक रूपमा सार्वजनिक गरेका थिए । महंगु संयुक्त राष्ट्रसंघसमक्ष निवेदन दिनेहरूमध्ये ज्येष्ठतम व्यक्ति तथा बर्दिया जिल्लाको मनाउबाट बेपत्ता बनाइएका पीडित मोहन चौधरीका पिता हुन् । समारोहमा निवेदकहरू तथा पीडित आन्दोलनका अगुवाहरूलाई उनीहरूको साहस, समर्पण तथा धैर्यका साथसाथै पीडितका अधिकार, न्याय, विधिको शासन स्थापना गर्न अनि नेपालमा दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्नका लागि आन्दोलनमा अगुवाइ गरेकामा सहभागीहरूले अभिनन्दन गरेका थिए ।

पत्रकार, पीडित समूह, मानवअधिकार कानुन व्यवसायीका साथसाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि लगायत करिब ६० जना सार्वजनिकीकरण समारोहमा सहभागी भएका थिए । न्याय पाउनका लागि पीडितहरूले सामना गर्नुपरेका चुनौती तथा संयुक्त राष्ट्रसंघसमक्ष पेश गरिएका व्यक्तिगत मुद्दाको भूमिकामाथि समारोहमा विस्तृत परामर्श गरिएको थियो । उक्त कार्यक्रममा पीडितहरूको समग्र आन्दोलनले सरकारको निष्क्रियताका बाबजुद न्यायका लागि प्रयत्न जारी राख्नका लागि आवश्यक पर्ने दृढता र धैर्यलाई समेत सम्बोधन गरिएको थियो ।

अब सार्थक अधिकार अभियानको अंगका रूपमा यी मुद्दाहरूमा न्यायका लागि गति निर्माण गर्ने लक्ष्यका साथ यो सार्वजनिकीकरणपछि पनि थप कार्यहरू वर्षैभरि गरिनेछन् ।